एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर बिक्री खुला गर्ने
- Jun 22, 2025
- 239
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार हालका १० कित्ता शेयरधनीले ४.२ कित्ता बराबर नयाँ शेयरको लागि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ रहनेछ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार, जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। हकप्रद शेयरको आवेदन अवधि साउन १३ गतेसम्म कायम रहनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन ए- (IRN A-)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतालाई ‘पर्याप्त रूपमा सुरक्षित’ रहेको संकेत गर्दछ।
यस हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ। शेयरधनीहरूले मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाहरू, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेकोमा हकप्रद निष्काशनपछि यो बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।











No comments yet.