Sarbaguna

खुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

खुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये १२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको छ। उक्त शेयरमा भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ। साथै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ताकम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर सुरक्षित गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते निष्काशन बन्द हुने जनाएको छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले CARE-NP Double B Plus Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्रको अवधि २५ वर्ष ४ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता अवधि १८.३७ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Leave a Comments

Comments

    No comments yet.