बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला
- Jul 22, 2025
- 147
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (साउन ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत, अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरिसकेको छ। यसमध्ये, ५ लाख ६६ हजार कित्ता शेयर आयोजनाबाट प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ। सो क्षेत्रमा तनहुँको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ पर्दछन्।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १०% अर्थात ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
-
स्थानिय बासिन्दाका लागि आवेदन अवधि छिटोमा साउन २० र ढिलोमा भदौ ४ गतेसम्म कायम हुनेछ।
-
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा साउन ९ र ढिलोमा साउन २० गतेसम्म दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिममा दायित्व बहन गर्ने क्षमताको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गर्ने केवलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यसको साधारण लगानी फिर्ता अवधि ८.२२ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि १०.५ वर्ष अनुमान गरिएको छ।
आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
-
स्थानिय बासिन्दाले सम्बन्धित पालिकाका कार्यालयहरू तथा कम्पनीको तल्लो स्टेशन, बन्दीपुर गाउँपालिका–४ मा आवेदन दिन सक्नेछन्।
-
फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
-
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि–आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।











No comments yet.