Sarbaguna

शिखर पावरको आईपीओ माघ ६ देखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। सो शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका बासिन्दा तथा विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत बराबरको २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ ९ गतेभित्र आवेदन दिनु पर्नेछ, र पर्याप्त आवेदन नपरेमा अवधि माघ २० गतेसम्म लम्बिनेछ।

क्रेडिट रेटिङतर्फ इक्रा नेपालले कम्पनीलाई इक्राएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक विद्युत उत्पादन भइरहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै करिब २९ वर्ष बाँकी रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.