शेयर धितो कर्जा १ खर्ब २८ अर्ब नाघ्यो, नबिल बैंक अग्रस्थानमा
- Jul 16, 2025
- 168
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले दिएको शेयर धितो कर्जा १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। योमध्ये मात्र वाणिज्य बैंकहरूको हिस्सा १ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ। कुल २० वाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक सबैले शेयर धितो कर्जा प्रवाह गरेका छन्।
हाल कर्जाको माग अन्य क्षेत्रमा कमजोर रहँदा बैंकहरू शेयर धितो कर्जालाई प्राथमिकतामा राख्दै विज्ञापनसहित यसको विस्तारमा लागेका छन्। यसमा सबैभन्दा आक्रामक रूपमा नबिल बैंक अघि देखिएको छ। नबिल बैंकले एक्लैले १५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेको छ, जुन वाणिज्य बैंकको कुल मार्जिन कर्जाको १४.२० प्रतिशत हो।
नबिलपछि ग्लोबल आईएमई बैंक ११ अर्ब ६० करोड रुपैयाँ (१०.९३%) र कुमारी बैंक ९ अर्ब ४७ करोड रुपैयाँ (९.९३%) शेयर धितो कर्जासहित दोस्रो र तेस्रो स्थानमा छन्।
अन्य बैंकहरूको कर्जा प्रवाह यस प्रकार छ:
-
सिद्धार्थ बैंक: ८.४१ अर्ब
-
प्राइम कमर्सियल बैंक: ८.१६ अर्ब
-
नेपाल बैंक: ७.७२ अर्ब
-
सिटिजन्स बैंक: ६.८५ अर्ब
-
लक्ष्मी सनराइज बैंक: ६.१६ अर्ब
-
राष्ट्रिय वाणिज्य बैंक: ६ अर्ब
-
प्रभु बैंक: ४.५२ अर्ब
-
कृषि विकास बैंक: ३.५७ अर्ब
-
नेपाल एसबीआई बैंक: ३.२८ अर्ब
-
सानिमा बैंक: ३.०१ अर्ब
-
एभरेष्ट बैंक: २.८२ अर्ब
-
हिमालयन बैंक: २.४५ अर्ब
-
माछापुच्छ्रे बैंक: २.२९ अर्ब
-
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: २.०९ अर्ब
-
एनआईसी एशिया बैंक: २ अर्ब
-
एनएमबि बैंक: ६१ करोड
पूर्व गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा प्रारम्भिक रूपमा कडाइ गरेपछि विस्तारमा रोकिएको थियो। तर पछि कर्जाको सीमा क्रमशः १२ करोडबाट बढाएर १५ करोडसम्म पुर्याइएको थियो, जसमा जोखिम भार १५०% तोकिएको थियो। उनले पछिल्ला दिनमा जोखिम भार घटाएर १००% बनाएका थिए। साथै, संस्थागत लगानीकर्तालाई सीमामुक्त बनाउने नीतिले कर्जामा थप विस्तार ल्याएको हो।
हाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले जारी मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडबाट २५ करोड रुपैयाँसम्म बढाएका छन्। साथै, जोखिम भार पनि यथावत् १०० प्रतिशत कायम गरिएको छ। यी नीतिहरूले शेयर धितो कर्जा विस्तारलाई अझ सहज बनाएको छ।













No comments yet.