सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि
- Dec 31, 2025
- 68
सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको थियो।
बैंकले जारी पूँजीको ३३ प्रतिशत बराबरको कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। सोमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार ३८८ कित्ता र सामूहिक लगानी कोषहरूका लागि ८६ हजार १९४ कित्ता शेयर बाँडफाँट भइसकेको छ।
अब दोस्रो चरणमा बैंकले कर्मचारीहरूका लागि सुरक्षित गरिएको २६ हजार ११९ कित्ता शेयर बाहेक बाँकी १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याइएको छ।
लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।











No comments yet.