Sarbaguna

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि १२ लाखभन्दा बढी कित्ता शेयर निष्काशन

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (फागुन ५ गते, मंगलबार)देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई वितरण गरिसकिएको छ।

अब कम्पनीले कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.