हिमालयन डिष्टिलरीको बिक्री र नाफा दुवैमा उल्लेखनीय वृद्धि
- Feb 1, 2026
- 52
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवैमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सकारात्मक वृद्धि देखिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ बराबरको कुल बिक्री आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा उक्त आम्दानी बढाएर ३ अर्ब २४ करोड ३० लाख रुपैयाँ पुर्याएको छ। यसले कम्पनीको बजार माग र सञ्चालन क्षमता मजबुत बन्दै गएको संकेत गर्छ।
बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीको नाफा १०.७३ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा बढाएर ४४ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २४ रुपैयाँ ३१ पैसा कायम भएको छ। पुस मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४६.८४ गुणा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको छ। समग्रमा, हिमालयन डिष्टिलरीको वित्तीय अवस्था सुदृढ बन्दै गएको देखिन्छ, जसले लगानीकर्ताहरूको विश्वास अझ बलियो बनाउन सक्ने संकेत गरेको छ।













No comments yet.