
अग्नि सिमेन्टको आम्दानीमा भारी गिरावट, १ वर्षमा कमायो ४० करोड २० लाख
- Jun 4, 2025
- 8
काठमाडौं: अग्नि सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.४४ प्रतिशतले कम हो। सन् २०२३ मा कम्पनीको आम्दानी ६७ करोड ५० लाख रुपैयाँ थियो, जबकि सन् २०२२ मा यो रकम १ अर्ब २१ करोड ६० लाख रुपैयाँ पुगेको थियो। यो जानकारी केयर रेटिङ नेपाल लिमिटेडले दिएको हो।
पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानी निरन्तर घट्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ को प्रदर्शनले अग्नि सिमेन्टको वित्तीय स्थिति र सञ्चालनमा उल्लेखनीय कमजोरीहरू देखाएको छ। सबैभन्दा ठूलो गिरावट क्षमता उपयोगमा देखिएको छ—जो २५.३२ प्रतिशतबाट घटेर ९.८४ प्रतिशतमा झरेको छ। यसले उत्पादन र बिक्री दुवैमा असर पारेको छ।
साथै, सिमेन्टको प्रति मेट्रिक टन मूल्य पनि घटेको छ। वित्तीय संरचना कमजोर बन्दै गएको देखिन्छ—कम्पनीको ऋण-इक्विटी अनुपात २.६४ गुणा पुगेको छ, जबकि ब्याज कभर अनुपात मात्र ०.६० छ, जसले कम्पनीको ब्याज भुक्तानी गर्ने क्षमता कमजोर रहेको संकेत गर्छ।
कार्यशील पुँजी व्यवस्थापनमा पनि चुनौतीहरू देखिएका छन्। नगद प्रवाहमा दबाब परेको छ र बैंक कर्जामा निर्भरता बढेको छ। कम्पनीसँग आफ्नै क्लिङ्कर युनिट नभएकाले कच्चा पदार्थको मूल्य अस्थिरता थप जोखिमको रुपमा देखिएको छ। यसको असर प्रतिस्पर्धी कम्पनीहरूसँगको तुलनामा स्पष्ट देखिन्छ, किनभने उनीहरूले आफ्नै क्लिङ्कर उत्पादन गर्न सक्ने भएकाले लागतमा नियन्त्रण राख्न सकिरहेका छन्।
सिमेन्ट उद्योगमा प्रतिस्पर्धा तीव्र छ र धेरै प्लान्टहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन्। यद्यपि, अग्नि सिमेन्टका केही सकारात्मक पक्षहरू पनि छन्। कम्पनी अनुभवी व्यवस्थापन टोलीद्वारा सञ्चालित छ, जसको सिमेन्ट क्षेत्रमा दीर्घ अनुभव छ। यसले विभिन्न ब्रान्डमार्फत उत्पादन बिक्री गर्दै आएको छ र देशका ९ वटा क्षेत्रमा आफ्नो उपस्थिति जमाएको छ।
सरकारको पूर्वाधार विकासमा दीर्घकालीन लगानी बढ्ने अपेक्षा भएकाले सिमेन्टको माग स्थिर रहने सम्भावना रहेको छ। कम्पनीले ९१ करोड ६८ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराएको छ। जसअनुसार, ५२ करोड ६८ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘CARE NP BB-’ र ३९ करोड रुपैयाँ छोटो अवधि कर्जाका लागि ‘CARE NP A4’ रेटिङ पुनः पुष्टि गरिएको छ।
No comments yet.