Sarbaguna
Post Image

आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग परामर्श, कार्यान्वयनयोग्य बजेट ल्याउन सुझाव

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तयारीको सन्दर्भमा अर्थ मन्त्रालयले बिहीबार पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ। छलफलमा सहभागी पूर्वमन्त्रीहरूले यथार्थपरक, कार्यान्वयनयोग्य र उत्पादनमुखी बजेट ल्याउन सुझाव दिएका छन्।

उनीहरूले बजेट लोकप्रियता र नारामा आधारित नभई व्यावहारिक र परिणाममुखी हुनुपर्नेमा जोड दिए। साथै, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित बजेट ल्याउनुपर्ने सुझावसमेत दिएका छन्।

पूर्वअर्थमन्त्रीहरूको सुझाव:

  • डा. बाबुराम भट्टराई: स्पष्ट नीति र विचारसहितको बजेट ल्याउनुपर्ने र सार्वजनिक, निजी, सहकारी तथा समुदायको भूमिका स्पष्ट हुनुपर्नेमा जोड। उनले सीमित स्रोतसाधनको उचित उपयोग गर्नुपर्ने बताए।

  • डा. प्रकाशशरण महत: आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै कार्यान्वयन योग्य आयोजना छनोट गर्नुपर्ने धारणा। उनले वित्तीय र मौद्रिक नीतिबीच तालमेल आवश्यक रहेको बताए।

  • वर्षमान पुन: राष्ट्रिय गौरवका आयोजना चरणबद्ध रूपमा सम्पन्न गर्नुपर्ने र बनेका पूर्वाधारको सदुपयोग गर्नुपर्नेमा जोड। साथै, सूचना प्रविधि र प्रादेशिक सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताए।

  • जनार्दन शर्मा: आयातमुखी राजस्व प्रणालीलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने सुझाव। नयाँ नीति निर्माणभन्दा परिणाममुखी बजेट आवश्यक रहेको र ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने धारणा।

  • ज्ञानेन्द्रबहादुर कार्की: क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलनमा आधारित बजेट आवश्यक रहेको बताए। उनले जनताले अनुभूति गर्ने कार्यक्रम ल्याउन र वैदेशिक लगानीलाई प्रोत्साहन गर्न सुझाव दिए।

  • शंकर कोइराला: तीन करोडभन्दा कम लागतका आयोजना संघीय सरकारबाट बजेट नपाउने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड। उनले पुराना आयोजना सम्पन्न गर्नउद्योगमा केन्द्रित बजेट ल्याउन सुझाव दिए।

  • डा. प्रकाशचन्द्र लोहनी: संघ, प्रदेश र स्थानीय तहमा अनुशासित बजेट प्रणाली आवश्यक रहेको धारणा। उद्योग र कृषि समन्वय गर्न संयन्त्र बनाइनुपर्ने सुझाव।

  • डा. रुप ज्योति: निजी क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत सुधार आवश्यक रहेको र प्रतिस्पर्धा प्रवर्द्धनमा ध्यान दिनुपर्ने धारणा।

छलफलको समापनमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट लोकप्रियताको लागि होइन, यथार्थ र अनुशासनमा आधारित भएर तयार भइरहेको बताए।

Leave a Comments

Comments

    No comments yet.