Sarbaguna

एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि आईपीओ खुलाउँदै

एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि आगामी कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि शेयर खुला गर्न लागेको हो।

कम्पनीले कुल जारी पूँजी रु. १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० मध्ये ४० प्रतिशत बराबर रु. ५२ करोड ३२ लाख ५४ हजार ८०० को ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ।

पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएका शेयरको बाँडफाँट सकिएको छ। त्यसका साथै कम्पनीले कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि रु. ४० करोड ७६ लाख १५ हजार ६०० बराबरका ४० लाख ७६ हजार १५६ कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित मूल्यमा बिक्री खुला गरिनेछ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा कात्तिक २३ गते बन्द हुनेछ भने ढिलोमा मंसिर ३ गते सम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इश्युअर रेटिङ “डबल बी” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.