Sarbaguna

ट्रेड टावरको आईपीओ सर्वसाधारणका लागि खुला

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आज बुधबारदेखि जारी गरेको छ। कम्पनीको आईपीओमा कार्यालय समय पश्चात 'मेरोसेयर' अनलाइन प्रणाली वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको शाखामार्फत आवेदन दिन सकिनेछ।

यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ। अब सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरिँदैछ। कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेकोमा, सो मध्ये १० प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपालीका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, र २ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ।

सर्वसाधारणले जेठ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको आईपीओमा इक्रा नेपालले बीबी माइनस रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमता मध्यमस्तरको रहेको जनाउँछ।

ट्रेड टावर लिमिटेडले हाउजिङ तथा होटल परियोजनाहरू सञ्चालन गर्दै आएको छ। प्रारम्भमा कञ्चनजंघा हाउजिङ लिमिटेडको रूपमा स्थापित यो कम्पनी हाल 'ट्रेड टावर' नामले सञ्चालनमा रहेको छ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानको जग्गा ३० वर्षका लागि भाडामा लिएर व्यावसायिक भवन ‘ट्रेड टावर’ निर्माण गरी सञ्चालन गर्दै आएको छ, जसबाट प्राप्त भाडा कम्पनीको प्रमुख आम्दानी स्रोत हो। सो भवन सञ्चालनमा आएको १५ वर्ष पूरा भइसकेको छ।

त्यस्तै, कम्पनीले भैंसेपाटीस्थित 'जनता आवास' परियोजना सम्पन्न गरी बिक्री गरिसकेको छ भने हाल गौशालामा ‘क्रिस्टल होटल’ सञ्चालनमा ल्याएको छ। ९० वटा लक्जरी कोठा रहेको सो होटलबाट पनि नियमित आम्दानी भइरहेको कम्पनीले जनाएको छ।

आईपीओबाट संकलन हुने रकममध्ये ३० करोड रुपैयाँ बैंकको ऋण तथा ब्याज भुक्तानीमा खर्च गरिनेछ भने बाँकी ९ करोड रुपैयाँ क्रिस्टल होटलको सेवा तथा क्षमता विस्तारमा प्रयोग गरिनेछ।

कम्पनीको वितीय विवरण अनुसार, गत पुस मसान्तसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ रहेको छ। साथै कम्पनीसँग ४ करोड ८२ लाख रुपैयाँ सञ्चित नाफा रहेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.