Sarbaguna
Post Image

नाफासँगै बढ्यो एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ६० करोड रुपैयाँको तुलनामा ३२.५५ प्रतिशतले वृद्धि हो।

नाफामा आएको यो वृद्धि बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुवैमा भएको उल्लेखनीय वृद्धिका कारण हो। समीक्षाअवधिमा खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३६.४१ प्रतिशतले उकालो लागेर ५ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ।

गत वर्ष ६३ करोड ७१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर यस वर्ष २७ करोड २९ लाख ९८ हजार रुपैयाँमा झरेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ भने जगेडा कोष (रिजर्भ) मा १३ अर्ब ६१ करोड रुपैयाँ सञ्चित छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि ६ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ६१ पैसामा पुगेको छ, जबकि अघिल्लो वर्ष यो २९ रुपैयाँ ५५ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसामा कायम छ।

Leave a Comments

Comments

    No comments yet.