पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Feb 27, 2026
- 38
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित स्थानीय बासिन्दा, ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो।
हाल कम्पनीले बाँकी रहेको ४५ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना र डिस्काउन्टमा लगानी फिर्ता अवधि ९ वर्ष १२ महिना रहेको कम्पनीले जनाएको छ।
कम्पनीले २०७६ वैशाखदेखि क्लिंकर तथा २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १,८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २,२०० मेट्रिक टन रहेको छ।
आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।














No comments yet.