
प्रिमियममा आइपीओ अनुमति पर्खिरहेको ह्याम्स हस्पिटलको १ वर्षको आम्दानी १ अर्ब ६६ करोड, वित्तीय अवस्था सन्तोषजनक
- Apr 27, 2025
- 2
काठमाडौं : प्रिमियममा आइपीओ बिक्री गर्ने तयारीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स)ले गत वर्ष (सन् २०२४) मा १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १९.२१ प्रतिशत धेरै हो ।
सन् २०२३ मा यस हस्पिटलले १ अर्ब ३९ करोड ५० लाख, सन् २०२२ मा १ अर्ब ५५ करोड ३० लाख र सन् २०२१ मा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ । कम्पनीले पुससम्म ९३ करोड ७० लाख आम्दानी गरेको छ ।
ह्याम्सले ८० करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम ७८ करोड बैंक कर्जाका लागि ‘इक्रा एनपी एलबीबीबी’ र सर्ट ट्रम २ करोड कर्जाका लागि ‘इक्राएनपी ए३’ रेटिङ पुनः पुष्टि गरेको हो । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।
कम्पनीको सञ्चालन स्थिति पछिल्लो समयमा सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ह्याम्सले करिब २९ प्रतिशत सञ्चालन नाफा कायम गर्न सफल भएको छ । साथै, कम्पनीको वित्तीय प्रोफाइल पनि सन्तोषजनक छ ।
सन् १९९८ देखि सञ्चालनमा रहेको ह्याम्सले पछिल्ला वर्षहरुमा विरामी संख्या र आम्दानीमा निरन्तर वृद्धि गर्न सफल भएको छ । एजेन्सीले ह्याम्सको अनुभवी चिकित्सक तथा व्यवस्थापन टोली, काठमाडौं उपत्यकाको उच्च जनघनत्वयुक्त स्थान र स्वास्थ्य क्षेत्रमा बढ्दो मागलाई समेत कम्पनीको बलियो पक्षका रुपमा उल्लेख गरेको छ ।
यता, यो हस्पिटलले हालै नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा करिब ४३ प्रतिशत सेयर खरिद गरेको र आगामी योजनाअनुसार थप पुँजीगत खर्च गर्नुपर्ने भएकाले ऋणमा निर्भरता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
रेटिङ एजेन्सीले आगामी दिनमा हस्पिटलको आम्दानी वृद्धिको क्रम कायम राख्न, अस्पतालको ओकुपेन्सी दर उच्च राख्न र पुँजीकरण तथा वित्तीय सूचकहरु सन्तुलनमा राख्नुपर्ने सुझाव दिएको छ । यस हस्पिटलले धुम्बाराही, काठमाडौंमा १०० शैयाको अस्पताल सञ्चालन गरिरहेको छ ।
हाल ह्याम्सले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । यसले ११ लाख २५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थप गरेर कुल २८८ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
No comments yet.