राष्ट्र बैंकद्वारा दुई डिजिटल वालेट कम्पनीको इजाजतपत्र रद्द, आपराधिक गतिविधिमा संलग्न भएको आरोप
- Jun 20, 2025
- 201
नेपाल राष्ट्र बैंकले दुई डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ। बिहीबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा २(च) अनुसार पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार, छानबिनका क्रममा दुवै कम्पनीले डिजिटल वालेटको दुरुपयोग गर्दै एक स्थानबाट रकम लोड गरी अर्को स्थानमा अनधिकृत रूपमा भुक्तानी गर्ने जस्ता गैरकानुनी गतिविधि सञ्चालन गर्दै आएको प्रमाणित भएको छ। कम्पनीका एजेन्टहरू नै यस्ता कारोबारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको छ।
अधिकारिहरूले जनाएअनुसार, यी कम्पनीहरूमार्फत गरिएका वित्तीय कारोबारहरू सुन तस्करी र हुन्डी जस्ता आपराधिक वित्तीय क्रियाकलापसँग समेत जोडिएको देखिएको छ। यसै सन्दर्भमा कम्पनीका सञ्चालक र प्रतिनिधिहरू प्रहरी नियन्त्रणमा लिइएर थप अनुसन्धान अघि बढाइएको छ।
पेवेल नेपालले २०७७ साल असोज ११ गते तथा सजिलो पेले २०७७ साल चैत १७ गते नेपाल राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्न स्वीकृति प्राप्त गरेका थिए। सुरु देखिनै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने दाबी गर्दै आएका यी कम्पनीहरूले भुक्तानी प्रणाली निर्देशिका २०८१, फर्छ्यौट विनियमावली २०७७ तथा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ लगायतका कानुनी प्रावधानहरू उल्लंघन गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले भविष्यमा यस्ता सेवा प्रदायकमाथिको नियमन तथा निगरानी अझ कडा बनाउने संकेतसमेत दिएको छ।














No comments yet.