राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ खिच्ने
- May 28, 2025
- 9
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट बुधबार ८० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ।
राष्ट्र बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलन गर्न आज (बुधबार) दिउँसो ३ बजेसम्म बोलकबोलको समय निर्धारण गरेको छ। यस अन्तर्गत बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा भने पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भागसम्म कायम गरिएको छ।
बोलकबोलको माध्यमबाट तोकिने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। सावाँ तथा ब्याज भुक्तानी आगामी असार ४ गते गरिनेछ।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाहरूले निक्षेप संकलनका लागि आफैंले राख्न चाहेको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।
बाँडफाँडको क्रममा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखेर क्रमशः आव्हान रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
यस कदमले बजारमा देखिएको अतिरिक्त तरलता घटाउने र मौद्रिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No comments yet.