Sarbaguna

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँट गरिएको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। उक्त एफपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको थियो। निष्काशन अवधिभर २१ लाख ९९ हजार २६ जना आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन परेको थियो।

प्राप्त आवेदनमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत गरिएको छ भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्। मागभन्दा धेरै आवेदन परेपछि नियमानुसार गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको हो।

बाँडफाँट परिणामअनुसार ४६ हजार ६८१ जना आवेदकले न्यूनतम १० कित्ताका दरले विजय लघुवित्तको शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेको ७ कित्ता शेयर पुनः सोही लगानीकर्ताहरूमध्ये बाँडफाँट गरिएको छ। जसअनुसार ७ जना आवेदकले थप १ कित्ता सहित कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

एफपीओमा अत्यधिक आवेदन परेसँगै धेरै लगानीकर्ताहरू खाली हात परेका छन् भने सीमित संख्याका आवेदकले मात्र शेयर हात पार्न सफल भएका छन्। यसले लघुवित्त क्षेत्रप्रति लगानीकर्ताको चासो अझै उच्च रहेको संकेत गर्दछ।

Tags

Leave a Comments

Comments

    No comments yet.