विजय लघुवित्त FPO आवेदन दिने आज अन्तिम दिन
- Jan 8, 2026
- 69
विजया लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले निष्काशन गरेको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ आज (पुष २४, २०८२) बाट बन्द हुँदैछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको एफपीओ पुष २१ गतेदेखि खुला गरिएको थियो।
बैंक तथा वित्तीय संस्था ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार सर्वसाधारणको स्वामित्व कम्तीमा ३० प्रतिशत कायम गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले एफपीओ निष्काशन गरेको हो। हाल प्रवर्द्धक–सार्वसाधारण शेयर संरचना ७४.३९:२५.६१ रहेकोमा एफपीओपछि ७०:३० मा पुग्नेछ।
कम्पनीले यस एफपीओमार्फत कुल ४ करोड ६६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म दिन सकिने व्यवस्था थियो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार कुल २० लाख ७० हजारभन्दा बढी आवेदनमार्फत २ करोड ४१ लाख २३ हजार ८०० कित्ताका लागि माग परेको छ, जसले एफपीओ करिब ५१.६७ गुणाले ओभरसब्स्क्राइब भएको देखाउँछ।
यसैबीच, आइक्रा नेपालले कम्पनीको इस्यूअर रेटिङ्ग [ICRANP-IR] B+ बाट घटाएर [ICRANP-IR] B मा झारेको छ, जसलाई ‘Watch with Negative Implications’ मा राखिएको छ। यसले वित्तीय दायित्व समयमै वहन गर्न उच्च जोखिम रहेको संकेत गर्छ। उक्त रेटिङ्ग कुनै विशेष ऋण उपकरणसँग सम्बन्धित भने छैन।
२०१२ मा स्थापना भई २०१३ देखि सञ्चालनमा आएको विजय लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ। २०२५ अक्टोबर मध्यसम्म कम्पनीका ४४ जिल्लामा १३५ शाखा रहेका छन्। गुडविल फाइनान्स (करिब ११%) र कुमारी बैंक (करिब ७%) प्रमुख प्रवर्द्धक हुन्। कम्पनीले २०२३ जुलाईमा नयाँ सारथी लघुवित्तसँग १:१ सेयर स्वाप अनुपातमा मर्जर गरेको थियो। मर्जरपछि सर्वसाधारणको स्वामित्व करिब २६ प्रतिशतमा झरेपछि ३० प्रतिशत पुर्याउन एफपीओ ल्याइएको हो।
कम्पनीले चालु आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासमा ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधिमा कुल सम्पत्ति ११ अर्ब ३० करोड रुपैयाँ नाघेको छ भने कुल निष्क्रिय कर्जा (NPL) १३.६ प्रतिशत र पूँजी पर्याप्तता अनुपात (CRAR) ९.६ प्रतिशत रहेको छ।














No comments yet.