Sarbaguna

सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा तीन गुणा

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफा अघिल्लो वर्षको ५८ करोड रुपैयाँबाट २२०% वृद्धि गरी १ अर्ब ८६ करोड रुपैयाँ पुर्‍याएको छ। डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकसँग १३.२२% लाभांश वितरण गर्ने क्षमता रहेको छ।

समीक्षा अवधिमा समग्र मुनाफा १०.२४% बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। कम जोखिमयुक्त कर्जामा प्राथमिकता दिँदै लगानी पोर्टफोलियो सुदृढ बनाइएको छ, जसका कारण खराब कर्जा २.६२% मा सीमित भएको छ।

खुद ब्याज आम्दानी ६.४३% वृद्धि भई ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने सेवा शुल्क र अन्य आम्दानी १५.०९% बढेर १ अर्ब ६४ करोड रुपैयाँ भएको छ। कुल सञ्चालन आम्दानी ११.८२% वृद्धि हुँदै ११ अर्ब १६ करोड रुपैयाँमा पुगेको छ। यस अवधिमा बैंकले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ।

निक्षेप संकलन १६.१६% बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६% वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

प्रमुख वित्तीय सूचकहरूमा सुधार देखिएको छ — प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा, वितरणयोग्य आम्दानीमा आधारित EPS १३ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा, पूँजीकोष अनुपात ११.७७% र आधार ब्याजदर ६.४२% मा झरेको छ। स्प्रेडदर ३.९८% कायम छ।

आर्थिक शिथिलताको बाबजुद वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि हुनु, जोखिम नियन्त्रण, र सम्पूर्ण सूचकमा सुधार हुनु बैंकको रणनीतिक सफलताको संकेतका रूपमा देखिएको छ।

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.