Sarbaguna

हाईड्रो र इन्भेस्टमेन्टमा चासो बढ्दो

साताको चौथो दिन बुधबार पनि नेपाली शेयर बजार स्थिर देखिएको छ। नेप्से परिसूचक ०.३३ अंकले घट्दै २६००.२० विन्दुमा बन्द भएको छ। असार मसान्तको दबाबसँगै लगानीकर्ताको अनिश्चित मनोविज्ञान बजारमा निर्णायक असर पारिरहेको विश्लेषकहरूको भनाइ छ।

आज १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर ६१ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल ५ अर्ब ९४ करोड रुपैयाँको कारोबार भयो। ११२ कम्पनीको शेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ। मोदि इनर्जी लिमिटेडमा ९.९९% ले सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर, पञ्चकन्या माई, त्रिशुली हाइड्रो, र माउन्टेन हाइड्रोमा पनि उल्लेख्य मूल्यवृद्धि देखिएको छ।

उपसमूहमा होटल तथा पर्यटन समूह १.४३% ले उकालो लागेको छ। इन्भेस्टमेन्ट समूहको कारोबार हिस्सा ८% बाट १०% मा पुगेको छ। बुटवल पावर कम्पनी एकल रुपमा ५३ करोड ९४ लाख रुपैयाँको कारोबार गर्दै शीर्ष स्थानमा रहेको छ।

प्राविधिक विश्लेषण:
नेप्से पछिल्ला तीन दिनदेखि एउटै सपोर्ट लाइन वरिपरि स्थिर रहँदै आएको छ। सोमबार बनेको 'इन्वर्टेड ह्याम्बर' क्यान्डलले ट्रेन्ड रिवर्सलको संकेत गरे पनि त्यसलाई पुष्ट्याउने बलियो क्यान्डल अभावले बजार अझै अनिश्चित देखिन्छ। जलविद्युत समूहको कारोबार हिस्सा ६३% पुग्नुले सो क्षेत्रमा चासो उल्लेखनीय रुपमा बढेको देखिन्छ।

ब्रोकर विश्लेषण:
ब्रोकर नं. ५८ ले सबैभन्दा बढी १ अर्ब ४ करोड रुपैयाँको कारोबार गरे पनि नेट होल्डिङ –८ करोड ४० लाख रुपैयाँ रहेको छ, जसले बिक्री दबाब उच्च रहेको देखाउँछ। उसको बाइ-सेल रेसियो ०.८५१ छ। ब्रोकर ४२ को रेसियो अझै न्यून ०.७१३ रहेको छ। यता, ब्रोकर ३८ र ४५ ले क्रमशः ३ करोड ७० लाख र २ करोड ३६ लाख रुपैयाँको नेट खरिद गर्दै बाय साइडमा चाप देखाएका छन्।

निष्कर्ष:
बजार लगातार साइडवेज अवस्थामा रहँदा प्रष्ट ट्रेन्ड देखिएको छैन। तर सपोर्ट लाइनमा बजार टिक्न खोजेको प्राविधिक संकेत, हाईड्रोपावर र इन्भेस्टमेन्ट सेक्टरमा चासो, र ब्रोकरहरूको व्यवहारले बजार अझै सेलर डोमिनेन्ट (बिक्रीकर्तामुखी) अवस्थामा रहेको पुष्टि गर्छ। यस्तो अवस्थामा लगानीकर्ताले विशेष सावधानी अपनाएर निर्णय लिनुपर्ने देखिन्छ।

Share training near me

Tags

Leave a Comments

Comments

    No comments yet.