हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
- Jul 20, 2025
- 228
हिमालयन बैंक लिमिटेड (HBL) ले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधानअनुसार बैंकले एफपीओ जारी गरेको हो।
हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढी छ, जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूह र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारण समूहको स्वामित्वमा रहेको छ। उक्त अनुपातलाई ३० प्रतिशतमा पुर्याउन बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्काशनमा ल्याएको हो। निष्काशनको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी छ।
यस एफपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले हिमालयन बैंकलाई ‘CARE NP BBB’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिममा वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी बढेर २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ पुग्नेछ।












No comments yet.