Sarbaguna

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्ने

हिमालयन बैंक लिमिटेड (HBL) ले असार ३२ गतेदेखि फर्दर पब्लिक इस्यू (एफपीओ) निष्काशन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधानअनुसार एफपीओ जारी गर्न लागिएको हो।

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापकको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। यस अनुपातलाई ३० प्रतिशत पुर्याउन बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर एफपीओमार्फत निष्काशन गर्दैछ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम उपलब्ध सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा साउन ४ गते बन्द हुनेछ भने आवश्यकता अनुसार साउन १४ गतेसम्म लम्बिन सक्नेछ।

केयर रेटिङ्ग नेपालले हिमालयन बैंकलाई CARE NP Triple B (Triple B) रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम स्तरको वित्तीय जोखिम संकेत गर्दछ। एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा 'मेरो शेयर' प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी बढेर २२ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी पुग्नेछ।

Share Training Near Me

Tags

Leave a Comments

Comments

    No comments yet.