नेपाल विद्युत् प्राधिकरणको दैनिक ७०० मेगावाट विद्युत् निर्यात
- Jun 29, 2025
- 177
नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक औसत ७०० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिरहेको छ। प्राधिकरणले डे-अहेड, रियल टाइम मार्केट, मध्यकालीन तथा द्विपक्षीय सम्झौतामार्फत भारतीय प्रतिस्पर्धी बजार (आईईएक्स) र बंगलादेशमा विद्युत् बिक्री गरिरहेको हो।
२०७८ साल कात्तिक १६ गतेबाट भारतीय बजारमा बिजुली बिक्रीको अनुमति पाएको प्राधिकरणले त्यसयता निरन्तर नाफा बढाउँदै ल्याएको छ।
हाल ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतलाई २०० मेगावाट र हरियाणा तथा बिहारमा थप १२५ मेगावाट विद्युत् आपूर्ति भइरहेको प्रवक्ता राजन ढकालले जनाएका छन्।
गत बिहीबार मात्रै १५ हजार ५३३ मेगावाटघण्टा विद्युत् निर्यात भई ११ करोड ५४ लाख रुपैयाँ आम्दानी भएको छ। औसतमा प्राधिकरणले युनिटको ७ रुपैयाँ ४३ पैसा प्राप्त गरिरहेको छ।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत् २०७९ असोज १७ यता निर्यात भइरहेको छ, जुन ढल्केवर–मुजफ्फरपुर लाइन हुँदै पुगिरहेको हो।
आईईएक्स मार्फत खुला बजारमा दैनिक औसत २५०–३५० मेगावाट बिजुली बिक्री हुँदै आएको छ, जसले नेपालको ऊर्जा व्यापारमा उल्लेखनीय योगदान पुर्याएको छ।
प्राधिकरणले गत वर्ष भारतमा १७ अर्ब ७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो। हाल वर्षको १८ अर्ब रुपैयाँ बराबरको निर्यात लक्ष्य लिएकोमा तामाकोसीलगायत आयोजनामा क्षति हुँदा केही समायोजन गरिएको बताइएको छ।
नाफाको यात्रा: घाटाबाट इतिहाससम्म
२०७२/७३ सम्म उच्च घाटामा रहेको प्राधिकरणले सुधारात्मक कदम पश्चात १० वर्षदेखि निरन्तर नाफामा छ। २०७०/७१ मा ४ अर्ब ७० करोडको नोक्सानी व्यहोरेको प्राधिकरणले २०७३/७४ मा १ अर्ब ५० करोड नाफाबाट लाभदायक यात्रा सुरु गरेको हो।
२०७५/७६ मा ११ अर्ब ७५ करोड नाफा कमाएर ऐतिहासिक उपलब्धि हासिल गरेको प्राधिकरणले २०७८/७९ मा १३ अर्ब ३७ करोड र २०७९/८० मा ९ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ।
गत आर्थिक वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ नाफासहित प्राधिकरणले १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणको नाफामुखी यात्रा र विद्युत् निर्यातको बढ्दो परिमाणले देशको ऊर्जा क्षेत्रमा सकारात्मक संकेत देखिएको छ।












No comments yet.