दरमखोला हाइड्रोको आईपीओ साउन १५ देखि खुला
- Jul 24, 2025
- 277
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात ३९ लाख ५० हजार कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई शेयर निष्काशन गरिसकेको छ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गर्न लागिएको हो। प्रतिकित्ता मूल्य १०० रुपैयाँ कायम गरिएको छ। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओमा आवेदन साउन १५ गतेदेखि दिन सकिनेछ भने निष्कासन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गतेसम्म खुला रहनेछ।
कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको यस आयोजनाको विद्युत अनुमतिपत्र अझै २८ वर्षसम्म बाँकी छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई “IRN BB-” रेटिङ प्रदान गरेको छ, जसले औषत जोखिम संकेत गर्दछ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।










No comments yet.