झापा इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
- Aug 27, 2025
- 126
झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
कम्पनीले यस चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याई बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता शेयर (प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ) सर्वसाधारणलाई निष्काशन गर्नेछ। कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबर हुनेछ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते बन्द हुनेछ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।कम्पनीले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्छ। यस आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २२ वर्ष बाँकी छ।
लगानी फिर्ता अवधि इक्विटीको हिसाबले ९.५५ वर्ष, प्रोजेक्टको हिसाबले ८.०६ वर्ष रहेको छ। डिस्काउण्टमा लगानी फिर्ता अवधि इक्विटीको १३.४६ वर्ष र प्रोजेक्टको १५.६६ वर्ष रहनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको तोकिएका शाखा कार्यालय वा मेरो शेयर अनलाइन मार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।













No comments yet.