खानी खोला हाइड्रोपावरका बाँकी हकप्रद शेयर लिलामीमा
- Oct 14, 2025
- 109
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहमा बाँकी रहेका ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलामी (Auction) मार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक व्यक्ति, कम्पनी वा संस्थाहरूलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न आह्वान गरेको हो।
लिलामीको आवेदन कात्तिक १२ गते (बुधबार) देखि सुरु भई कात्तिक १९ गते (बुधबार) अपराह्न ३:०० बजेसम्म बुझाउन सकिनेछ। कम्पनीले यसअघि साउन ३ देखि भदौ ५ गतेसम्म हकप्रद शेयर बिक्रीका लागि आवेदन मागेको थियो, तर सम्पूर्ण शेयर बिक्री नभएकाले बाँकी शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
बोलपत्र फाराम सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौं तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका विभिन्न शाखा—कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौँडाबाट प्राप्त गर्न सकिनेछ।
न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्ने र सोभन्दा बढीका लागि १० ले भाग जाने संख्यामा वा सम्पूर्ण शेयरका लागि बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ। आवेदकहरूले प्रति शेयर कति मूल्यमा खरिद गर्न चाहन्छन् भन्ने स्पष्ट रूपमा उल्लेख गरी गोप्य बोलपत्र फाराम बुझाउनुपर्नेछ।
बोलपत्र पेश गर्दा आवश्यक कागजात र रकम सिटिजन्स क्यापिटल लिमिटेडको नाममा जम्मा गर्नुपर्नेछ। थप विवरणका लागि कम्पनीको वेबसाइट www.kkhpcl.com.np वा www.citizenscapital.com.np मा जानकारी उपलब्ध छ।












No comments yet.