कामना सेवा विकास बैंकको दोस्रो त्रैमासिक वित्तीय नतिजा: नाफामा सुधार, वितरणयोग्य मुनाफामा दबाब
- Jan 19, 2026
- 70
कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा वार्षिक आधारमा २२.३४ प्रतिशतले बढ्दै ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफा वृद्धिको मुख्य आधार खुद ब्याज आम्दानीमा ११.१९ प्रतिशतको वृद्धि र इम्पेरमेन्ट चार्ज घट्नु रहेको छ। यससँगै खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशतले बढ्दा बैंकको कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशत र सञ्चालन मुनाफा २०.९१ प्रतिशत ले उकालो लागेको छ।
यद्यपि, नाफा बढेको भए पनि वितरणयोग्य मुनाफा २१.२५ प्रतिशतले घट्नु बैंकका लागि चुनौतीपूर्ण पक्षका रूपमा देखिएको छ। यसले भविष्यको लाभांश क्षमतामा केही दबाब पर्न सक्ने संकेत गर्छ।
सकारात्मक पक्षतर्फ हेर्दा, बैंकको निष्क्रिय कर्जा (NPL) ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ। यसकै परिणामस्वरूप इम्पेरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफामा सहयोग पुर्याएको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २ रुपैयाँ ६ पैसा बढेर २० रुपैयाँ ४३ पैसा पुगेको छ भने वितरणयोग्य EPS ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसा मा झरेको छ। पुस मसान्तसम्म बैंकको P/E रेसियो करिब २२ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ।
पूँजी संरचनातर्फ, ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष २ अर्ब २४ करोड २५ लाख रुपैयाँ पुगेको छ। निक्षेप संकलन ६३ अर्ब ६२ करोड रुपैयाँ माथि पुगेको छ भने कर्जा प्रवाह ५२ अर्ब १० करोड रुपैयाँ नाघेको छ।













No comments yet.