उच्च कारोबारका बीच नेप्से घट्यो, ७ महिनायताकै ठूलो कारोबार २१ अर्ब नाघ्यो
- Mar 10, 2026
- 15
फागुन २६ गते मंगलबार नेपाली शेयर बजारमा झण्डै साढे सात महिनायताकै उच्च कारोबार भएको छ। यस दिन कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको हो, जुन साउन ११ पछिको सबैभन्दा ठूलो कारोबार रकम हो।
यसअघि साउन ११ गते बजारमा २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०८१ भदौ महिनाको अन्तिम कारोबार दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड रहेको छ।
निर्वाचन परिणामपछि खुलेको बजारमा अघिल्लो दिन भने असाधारण उतारचढाव देखिएको थियो। सो दिन बजारमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको थियो। यसका कारण लगानीकर्ताले पर्याप्त किनबेच गर्न नपाउँदा कारोबार रकम ५५ करोड रुपैयाँ मा सीमित भएको थियो।
तर मंगलबार भने बजार पूर्ण समय सञ्चालन हुँदा कारोबार रकम उल्लेखनीय रूपमा बढेर २१ अर्ब नाघेको देखिएको हो।

यद्यपि उच्च कारोबार रकम देखिए पनि नेप्से परिसूचक भने घटेको छ। मंगलबार नेप्से ३२.०८ अंक (१.११ प्रतिशत) ले घटेर २८४३ विन्दुमा बन्द भएको छ। कारोबार अवधिभर बजारमा तीव्र उतारचढाव देखिएको थियो। कारोबार सुरु भएपछि बजार दबाबमा पर्दै १२:३५ बजे नेप्से २७९६ अंकसम्म झरेको थियो। त्यसपछि केही सुधार हुँदै अन्त्यसम्म बजार सोही आसपासमा स्थिर बनेको देखिएको हो।
आजको कारोबारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ। साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत सूचकतर्फ हेर्दा निर्जीवन बीमा र जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ। तर बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य तथा व्यापार समूहका सूचकहरू घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक को शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। त्यसैगरी थ्रीस्टार हाइड्रोपावर, कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसन मा पनि उल्लेख्य वृद्धि देखिएको छ।
यसदिन सबैभन्दा धेरै गिरावट हिमस्टार ऊर्जामा ६.३६ प्रतिशत ले आएको छ।
कारोबार रकमका आधारमा भने ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा देखिएका छन्।














No comments yet.