Sarbaguna

आज कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

कालंगा हाइड्रो लिमिटेड ले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। साथै, १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो।

अब दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

आईपीओको लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कम्पनीलाई ‘CARE-NP Double B Issuer Rating’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायिक विद्युत उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष १ महिना बाँकी रहेको छ।

यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.२९ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १८.०१ वर्ष रहेको बताइएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.