कर बढ्यो, बजार घट्यो: नयाँ पुँजीगत लाभकर लागू भएसँगै लगानीकर्ता थप आक्रोशित
- Jul 17, 2026
- 30
नयाँ आर्थिक वर्षसँगै सरकारले बजेटमार्फत घोषणा गरेका संशोधित पुँजीगत लाभकरका दर शुक्रबारदेखि औपचारिक रूपमा लागू भएका छन्। तर, यो निर्णय कार्यान्वयनमा आएसँगै शेयर बजारका लगानीकर्ताको असन्तुष्टि अझ चुलिएको छ।
नयाँ व्यवस्थाअनुसार अब एक वर्षभन्दा कम अवधिसम्म शेयर होल्ड गर्ने (अल्पकालीन) लगानीकर्ताले १० प्रतिशत र एक वर्षभन्दा बढी होल्ड गर्ने (दीर्घकालीन) लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि यी दर क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत थिए। अर्थात् सरकारले दुवै वर्गका लगानीकर्ताका लागि करको दर २.५ प्रतिशत बिन्दुले बढाएको हो।
यद्यपि, बजेटमा पुँजीगत लाभकरलाई अन्तिम कर (Final Tax) बनाइने घोषणा गरिए पनि त्यससम्बन्धी कानुनी प्रक्रिया र कार्यान्वयनको स्पष्टता नआउँदा लगानीकर्तामा थप अन्योल सिर्जना भएको छ।
बजारमा लगातार गिरावट आइरहेको, कारोबार रकम घटिरहेको र लगानीकर्ताको मनोबल कमजोर बनेको अवस्थामा करको भार थप्नु उपयुक्त नभएको भन्दै लगानीकर्ताहरूले सरकारको निर्णयको तीव्र आलोचना गरेका छन्।
बजार विश्लेषकहरूका अनुसार प्रतिकूल अवस्थामा करको दर बढाउँदैमा राजस्व स्वतः बढ्दैन। बरु कम कर दर कायम राख्दा कारोबार बढ्ने, बजारमा तरलता आउने र अन्ततः सरकारको राजस्वसमेत वृद्धि हुने सम्भावना बढी रहने उनीहरूको तर्क छ।
लगानीकर्ता विशेष लामिछानेका अनुसार, "बजार घटिरहेको बेला करको दर बढाउनुको कुनै औचित्य छैन। यसले लगानीकर्ताको मनोबल झन् कमजोर बनाउँछ र बजारको आकर्षण घटाउँछ। दीर्घकालमा यसले राजस्वमा पनि नकारात्मक प्रभाव पार्न सक्छ।"
लगानीकर्ताहरूको भनाइमा अहिलेको आवश्यकता बजारप्रति विश्वास पुनर्स्थापित गर्ने नीति ल्याउनु हो। तर सरकारले सहजीकरण गर्नुको सट्टा करको भार बढाएर पूँजी बजारलाई थप दबाबमा पारेको उनीहरूको आरोप छ। उनीहरूले कर वृद्धिको निर्णय पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।
नयाँ बजेट सार्वजनिक भएयता नेप्से परिसूचक निरन्तर दबाबमा रहँदै आएको छ। धेरै लगानीकर्ताले बढेको कर, नीतिगत अन्योल र कमजोर लगानी वातावरणलाई बजारमा देखिएको लगातार गिरावटको प्रमुख कारणका रूपमा औंल्याइरहेका छन्।












No comments yet.