सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Feb 23, 2026
- 32
सुपर खुदी हाइड्रोपावर लिमिटेड ले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर ३१ करोड रुपैयाँ मूल्यका ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ। त्यस्तै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई समेत वितरण भइसकेको छ।
दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस परियोजनामा साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।














No comments yet.