हिमालयन इन्भेष्टमेन्ट बैंकरले ४ अर्बको पहिलो बन्दमुखी फण्ड निष्काशन गर्दै
- Aug 22, 2025
- 198
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड ले आफ्नो पहिलो बन्दमुखी योजना एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाई निष्काशनमा ल्याउन लागेको हो। यसमध्ये ५० प्रतिशत अर्थात २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिनेछ।
फण्डमा आवेदन दिने अवधि भदौ १५ गतेदेखि सुरु हुनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सो फण्डको अवधि १० वर्ष रहनेछ, जसको गणना इकाई बाँडफाँट भएको मितिदेखि हुनेछ।
फण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन अवधि भदौ २९ गतेसम्म थप गर्न सकिनेछ। कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाईमा आवेदन आएमा बाँडफाँट गरिनेछ भने न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र रकम फिर्ता गरिनेछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक स्वयं हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ। लगानीकर्ताले आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
म्युचुअल फण्ड निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई आईआरएन ए प्लस इस्यूअर रेटिङ्ग र योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।












No comments yet.