Sarbaguna
Post Image

जापानी कम्पनी होन्डाद्धारा विद्युतीय सवारीमा ३० प्रतिशत लगानी कटौती गर्ने घोषणा

टोकियो : अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले आफ्नो विद्युतीय सवारी साधन (इभी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मका लागि तोकिएको लगानी १० ट्रिलियन येन (झन्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करिब ४८ अर्ब डलर) बनाउने निर्णय गरेको छ । यो लगानीमा करिब ३० प्रतिशतको कटौती हो ।

कम्पनीले विश्वभर अपेक्षित दरमा इभीको माग नबढेको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता रहेको जनाउँदै लगानी घटाउने निर्णय गरेको हो ।

कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल गाडी बिक्रीमा विद्युतीय सवारीको हिस्सा २० प्रतिशतमा सीमित हुनेछ, जुन पहिले ३० प्रतिशत पुर्याउने लक्ष्य थियो ।

यसै क्रममा, क्यानडामा निर्माण गरिने भनिएको ब्याट्री तथा इभी उत्पादन केन्द्रको काम सन् २०२८ मा सुरु गर्ने योजना दुई वर्ष पछाडि सारिएको छ । कम्पनीले त्यस अवधिमा अवस्थाको समीक्षा गर्दै योजना कार्यान्वयन गर्ने जनाएको छ ।

यद्यपि लगानीमा कटौती गरिएको भए पनि, होन्डाले सन् २०४० सम्म सम्पूर्ण नयाँ गाडीहरू विद्युतीय वा वैकल्पिक ऊर्जामा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य यथावत राखेको छ ।

साथै, कम्पनीले सन् २०३० सम्म वर्तमानको तुलनामा दोब्बर अर्थात् करिब २२ लाख मिलेजुले (हाइब्रिड) सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । आगामी चार वर्षमा १३ वटा नयाँ हाइब्रिड मोडल बजारमा ल्याउने तयारी पनि कम्पनीको छ ।

यसबाहेक, अत्यधिक मुनाफा दिने मोटरसाइकल व्यवसायमा ध्यान केन्द्रित गर्दै कम्पनीले हालको ४० प्रतिशत विश्व बजार हिस्सा ५० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य बनाएको छ ।

Leave a Comments

Comments

    No comments yet.