Sarbaguna

अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, केन्द्रीय बैंकले जारी गर्यो नयाँ निर्देशन

सिड्नी : अष्ट्रेलियाको केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीतिमा परिवर्तन गर्दै औपचारिक नगद दर (क्यास रेट) २५ आधार अंकले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ । यो निर्णय बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकपछि सार्वजनिक गरिएको हो, र सन् २०२५ मा गरिएको दोस्रो ब्याजदर कटौती हो ।

बैंकद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति)लाई स्थिर बनाउने लक्ष्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ । सन् २०२२ मा अत्यधिक उच्च मुद्रास्फीति भएपछि केन्द्रीय बैंकले त्यसपछि लगातार ब्याजदर बढाउँदै आएको थियो ।

बैंकका अनुसार ती नीतिहरुले समग्र माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पुर्‍याएको छ । हाल मुद्रास्फीति केही घटेको देखिएको र आर्थिक गतिविधि प्रोत्साहित गर्न ब्याजदर घटाउने निर्णय गरिएको बताइएको छ ।

बैंकले पछिल्लो तीन महिनामा वैश्विक आर्थिक अनिश्चितता बढेको र त्यसको प्रभाव अष्ट्रेलियाली अर्थतन्त्रमा पनि देखिन सक्ने भएकाले सावधानीका साथ नीतिगत निर्णयहरू गरिरहेको स्पष्ट पारेको छ । घरेलु आर्थिक अवस्था अझै प्रष्ट नभएको, र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहारले आगामी निर्णयहरूलाई प्रभाव पार्ने उल्लेख गरिएको छ ।

यो ब्याजदर कटौतीले ऋण लिनेहरूलाई राहत पुग्ने र लगानीको प्रवाहमा सकारात्मक असर पर्ने अपेक्षा गरिएको छ । यद्यपि, आर्थिक वातावरण अझै पूर्ण रुपमा स्थिर नभएको भन्दै केन्द्रीय बैंकले भविष्यमा परिस्थिति अनुसार थप निर्णय लिने तयारी रहेको जनाएको छ ।

Leave a Comments

Comments

    No comments yet.