
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीमा दोस्रो बजारको आकर्षण, बोर्डले हटाए पाइपलाइनबाट
- May 22, 2025
- 20
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत करिब १८ प्रतिशत कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको पाइएको छ। अर्थात्, कुल २४८ वटा सूचीकृत कम्पनीहरूमध्ये ४४ वटाको नेटवर्थ ९० रुपैयाँभन्दा कम छ भने ६२ वटा कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा कम छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्टअनुसार कतिपय कम्पनीको नेटवर्थ ४ रुपैयाँ ५० पैसासम्म झरेको छ, जसमा हाइड्रोपावर कम्पनीहरू मुख्य रूपमा परेको देखिन्छ।
यस्ता कमजोर वित्तीय सूचक भएका कम्पनीहरूको सेयरमा भने लगानीकर्ताको आकर्षण अझै उच्च देखिन्छ। धेरैजसो यस्ता कम्पनीको सेयर आपूर्ति सीमित हुने भएकाले केही व्यक्ति वा समूह मिलेर कृत्रिम रूपमा मूल्य बढाउने गरेको देखिन्छ। यस्ता कम्पनीको सेयर संस्थागत लगानीकर्ताले खासै होल्ड नगर्ने हुँदा, ठूलो परिमाणमा सप्लाई आउने सम्भावना पनि न्यून हुन्छ।
त्यही कारणले अपरेटर वा सेयर खेलाडीहरूले यस्ता कम्पनीका सेयर कर्नरिङ गरी भाउ कृत्रिम रूपमा बढाउने गरेका छन्। यसरी मूल्य वृद्धि भएपछि अल्पकालीन पुँजीगत लाभको आशामा लगानीकर्ताहरू पनि पछि लाग्ने प्रवृत्ति देखिन्छ। तथ्यांक हेर्दा करिब २५ प्रतिशत सूचीकृत कम्पनीको नेटवर्थ अंकित मूल्य (१०० रुपैयाँ) भन्दा कम छ।
विश्लेषकहरूका अनुसार यस्ता कमजोर वित्तीय आधार भएका कम्पनीमा लगानी गर्दा सचेत हुन आवश्यक छ। वित्तीय स्थिति सबल र प्रत्येक वर्ष नाफा कमाउने ‘ब्लु चिप’ कम्पनीमा लगानी गर्नु दीर्घकालीन हिसाबले सुरक्षित हुने बताइन्छ।
तर प्रश्न उठेको छ — नेपाल धितोपत्र बोर्ड (SEBON) के आइपीओ अनुमति दिने बेलासम्म मात्र कम्पनीहरूको नियमन गर्छ? सूचीकृत भएपछिको वित्तीय अवस्थामाथि किन चासो देखिँदैन?
बोर्डले भने सोमबार ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका १४ वटा कम्पनीलाई आइपीओ पाइपलाइनबाट हटाएको छ। तर, एक सूचीकृत कम्पनीको नेटवर्थ त अंकित मूल्यभन्दा ९५ प्रतिशतसम्म घटेको पाइएको छ।
तेस्रो त्रैमास अनुसार ५ वटा कम्पनीको नेटवर्थ त २५ रुपैयाँभन्दा पनि तल झरेको छ। आइपीओ दिने बेला राम्रो वित्तीय विवरण देखाए पनि सूचीकृत भएपछिमात्र वास्तविक अवस्था खुल्ने गरेको देखिन्छ। यस्तो अवस्थामा बोर्डको नियमन किन प्रभावकारी देखिँदैन भन्ने प्रश्न उठेको छ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, दोस्रो बजारमा कारोबार भइरहेका कम्पनीहरूको नेटवर्थ घट्दा कानुनी रूपमा बोर्डले हस्तक्षेप गर्न सक्दैन। उनले भने, "आइपीओ पाएपछि कम्पनी नाफामा नै रहन्छन् भन्ने हुँदैन, तिनीहरूको प्रदर्शनकै आधारमा वित्तीय अवस्था तय हुन्छ।"
हाल लेखा समितिको निर्देशनअनुसार बोर्डले नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई पाइपलाइनबाट हटाएको छ। ती कम्पनीहरूले नेटवर्थ सुधार गरी ९० रुपैयाँभन्दा माथि पुर्याएपछि पुनः आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
हाल नेप्सेमा १०० देखि २०० रुपैयाँबीच नेटवर्थ भएका कम्पनीहरूको संख्या १४४ छ भने २०० रुपैयाँभन्दा माथिको नेटवर्थ भएका कम्पनी ४१ छन्।
No comments yet.