
भारतसँगको तनावले अप्रिल महिना पाकिस्तानको सेयर र बन्डका लागि सन् २०२३ पछिकै सबैभन्दा खराब
- Apr 30, 2025
- 2
काठमाडौं : अप्रिल महिना पाकिस्तानका डलर बन्ड र स्टकहरूको लागि सन् २०२३ यताकै सबैभन्दा खराब महिना बन्ने संकेत देखिएको छ । भारतसँगको बढ्दो तनावका कारण लगानीकर्ताहरूको मनोबल प्रभावित हुँदा बन्ड र सेयर बजार दुवै कमजोर देखिएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
युद्धको सम्भावना बढेसँगै पाकिस्तानी स्टकहरूले अन्य मुलुकका तुलनामा कमजोर प्रदर्शन गरेका छन् भने डलर बन्ड र रुपैयाँको मूल्य पनि घटेको छ । पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले बुधबार भारतले २४ देखि ३६ घण्टाभित्र सैन्य कारबाही गर्ने तयारी गरिरहेको दाबी गरेका थिए र पाकिस्तानले त्यसको निर्णायक प्रतिक्रिया दिने बताएका थिए ।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो । भारतले यस घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आरोप पाकिस्तानले अस्वीकार गरेको छ ।
अप्रिल महिनामा पाकिस्तानका डलर बन्डमा लगानी गर्नेहरूले झन्डै ४ प्रतिशत नोक्सानी बेहोरेका छन् भने सेयर बजार करिब ३ प्रतिशतले घटेको छ । यता, भारतीय स्टक र बन्डहरू भने वृद्धिमा देखिएका छन्, जसले भारतीय सम्पत्तिहरूलाई तुलनात्मक रूपमा बलियो बनाइरहेका छन् ।
पहलगाम घटना अघि पाकिस्तानप्रति लगानीकर्ताको धारणा सुधार हुँदै गइरहेको थियो । देशको क्रेडिट रेटिङमा सुधार आएको थियो, तेलको मूल्यमा गिरावट आएको थियो, र सेयर बजारमा २२ वर्षको सबैभन्दा उच्च वार्षिक वृद्धि देखिएको थियो । आर्थिक गतिविधिमा पनि सुधार देखिँदा स्टक मार्केट थप उकालो लाग्ने संकेत दिइरहेको थियो ।
No comments yet.