Sarbaguna

आज अन्तिम दिन: टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि तथा ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता शेयर सुरक्षित गरिएको छ।

अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर निष्काशन गरेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओलाई CARE Ratings Nepal ले “केयरएनपी डबल बी प्लस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी-आस्बा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.