आज अन्तिम दिन: बुद्धभुमी नेपाल हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने मौका
- May 11, 2026
- 59
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद शेयर जारी गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्दै ४० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्न लागेको हो।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा Infomerics Credit Rating Nepal ले कम्पनीलाई “आईआरएन डबल बी” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, नुवाकोटको थप्रेकस्थित जलविद्युत गृह तथा एनआईसी एशिया बैंक का विभिन्न शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी-आस्बा प्रणालीमार्फत तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर ८० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रदमार्फत संकलन हुने रकम आयोजना सञ्चालनका लागि लिइएको बैंक ऋण आंशिक रूपमा भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक मा गरी कुल ९६ करोड ९० लाख रुपैयाँभन्दा बढी ऋण बाँकी रहेको छ। हकप्रदबाट उठेको रकममार्फत ऋण भुक्तानी गरेपछि बाँकी ऋण करिब ५६ करोड ९० लाख रुपैयाँ रहने कम्पनीले जनाएको छ।















No comments yet.