कर्णाली डेभलपमेन्ट बैंक पुनर्संरचनामा नयाँ मोडालिटीको खोजी, आईपीओ/एफपिओ विकल्पमा छलफल
- May 8, 2026
- 40
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक को पुनर्संरचनाका लागि नयाँ मोडालिटीमा छलफल अघि बढाएको छ। यसअघि बैंकको पूँजी आधार मजबुत बनाउन हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अगाडि सारिएको भए पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कानुनी जटिलता देखाउँदै स्वीकृति नदिएपछि अब वैकल्पिक उपायहरूको खोजी सुरु गरिएको हो।
राष्ट्र बैंक स्रोतका अनुसार बैंकका निक्षेपकर्तालाई रकम फिर्ता गर्ने र संस्थालाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित आईपीओ वा एफपिओ निष्कासनमार्फत नयाँ पूँजी भित्र्याउने विकल्पमा समेत अध्ययन भइरहेको छ। समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई पूर्ण रूपमा बन्द हुन नदिई पुनर्जीवन दिने रणनीतिअन्तर्गत विभिन्न वित्तीय तथा कानुनी उपायमाथि छलफल भइरहेको बताइएको छ।
स्मरणीय छ, २०८१ पुस १० गते नेपाल राष्ट्र बैंक ले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसयता बैंकको व्यवस्थापन राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा रहेको छ। बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको, साथै दायित्व सम्पत्तिभन्दा बढी देखिएपछि नियामक निकायले पुनर्संरचना प्रक्रिया तीव्र बनाएको हो।
प्रारम्भिक चरणमा राष्ट्र बैंकले ‘डिपोजिट टु इक्विटी स्वाप’ मोडेललाई प्राथमिकतामा राखेको थियो। यसअन्तर्गत बैंकमा रहेको निश्चित निक्षेप रकमलाई सेयरमा रूपान्तरण गरी पूँजी आधार बलियो बनाउने योजना अघि सारिएको थियो। तर, यस्तो प्रक्रिया कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार तथा सेबोनको स्वीकृति आवश्यक पर्ने भएकाले उक्त मोडेलमा जटिलता देखिएको बताइएको छ।
अब नियामक निकायले सर्वसाधारण वा रणनीतिक लगानीकर्तामार्फत नयाँ पूँजी भित्र्याउने विकल्पलाई समेत गम्भीर रूपमा अध्ययन गर्न थालेको छ। वित्तीय क्षेत्रका जानकारहरूका अनुसार समस्याग्रस्त बैंकको पुनर्संरचना चुनौतीपूर्ण भए पनि स्पष्ट योजना, पारदर्शी प्रक्रिया र विश्वसनीय लगानीकर्ता भित्र्याउन सके बैंकलाई पुनः सञ्चालनमा ल्याउन सम्भव हुन सक्छ।
यद्यपि, निक्षेपकर्ताको विश्वास पुनः स्थापित गर्न सकिन्छ वा सकिँदैन भन्ने विषय अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ। बैंकको पुनर्संरचना सफल भए त्यसले नेपालको वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न सकारात्मक सन्देश दिने विश्लेषण गरिएको छ।















No comments yet.