काठमाडौँमा ७४ लाख बराबरको क्रिप्टो कारोबारमा संलग्न दुई पक्राउ
- Dec 1, 2025
- 94
जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध अभौतिक (क्रिप्टो) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ–१४ का ३६ वर्षीय विशाल डङ्गोल र मोरङ मिक्लाजुङ–१ स्थायी निवासी तथा हाल कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका छन्। विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
शनिबार काठमाडौँ महानगरपालिका–१०, बिजुली बजार क्षेत्रमा केही व्यक्तिहरू क्रिप्टो कारोबार गरिरहेको सूचनापछि खटिएको प्रहरी टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकासँग क्रिप्टो व्यापारमा प्रयोग भएका विभिन्न कम्पनीका पाँच मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमै उनीहरूले अवैध रूपमा अभौतिक मुद्रा प्रयोग तथा कारोबार गरेको पुष्टि भइसकेको छ। नेपालमा क्रिप्टो कारोबार कानुनी रूपमा निषेधित रहेकाले उनीहरूविरुद्ध सोही सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ।













No comments yet.