जेठ १४ गतेदेखि सानिगाड हाइड्रोको आईपीओ खुल्ने
- May 19, 2026
- 23
सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन तथा बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुलाउन लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। साथै, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो।
अब कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन हुने उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशन छिटोमा जेठ २० गते बन्द हुनेछ भने पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ २८ गतेसम्म खुला रहनेछ।
आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई “ICRANP-IR BB-” रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रवर्द्धन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि १४.६९ वर्ष रहेको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।











No comments yet.