पोलिसी सरेण्डरको संख्या बढ्दै, जीवन बीमा कम्पनीका लागि चुनौती
- Jul 7, 2025
- 219
पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा पोलिसी सरेण्डरबाट उठेको रकम १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा यो रकम १२ अर्ब २० करोड ३३ लाख रुपैयाँ थियो।
यद्यपि, सरेण्डर गरिएको बीमा पोलिसीको संख्यामा भने केही कमी आएको देखिन्छ। चालु आवमा ९८ हजार ४१ वटा पोलिसी सरेण्डर भएका छन्, जुन अघिल्लो वर्षको १ लाख १२ वटा पोलिसीको तुलनामा १.९७ प्रतिशतले कम हो।
बीमा विश्लेषकहरूका अनुसार पछिल्लो समयको आर्थिक संकुचन र नगद प्रवाहको अभावले ग्राहकहरू आफ्नो बीमा पोलिसी सरेण्डर गर्न बाध्य भएका छन्। कतिपय अवस्थामा बीमा शुल्क तिर्न नसक्ने र सरेण्डरबापत प्राप्त रकमबाट दैनिक खर्च टार्नुपर्ने अवस्था समेत देखिएको छ।
यो अवस्था जीवन बीमा कम्पनीहरूका लागि चुनौतीपूर्ण बन्दै गएको छ। सरेण्डरको बढ्दो प्रवृत्तिले कम्पनीको नगद प्रवाह, दीर्घकालीन लगानी रणनीति र ग्राहक विश्वासमा नकारात्मक असर पार्न सक्ने जोखिम रहेको बीमा क्षेत्रका जानकारहरू बताउँछन्।













No comments yet.