बन्दीपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि
- Jul 14, 2025
- 157
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ।
कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। यस अन्तर्गत, ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अन्तर्गत तनहुँ र गोरखाका निश्चित वडाका बासिन्दाहरूका लागि छुट्याइएको छ।
त्यस्तै, ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। प्रति शेयर दर १०० रुपैयाँ तोकिएको छ।
स्थानिय बासिन्दाका लागि आवेदन साउन २० गतेदेखि भदौ ४ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन ९ गतेदेखि साउन २० गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको आवेदन दिन सकिनेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ। आयोजना लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ, र लगानी फिर्ता हुने अनुमानित अवधि ८.२२ वर्ष तथा छुटमा ७.०५ वर्ष रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन सम्बन्धी प्रक्रिया स्थानीय तहको कार्यालयहरूबाट तथा वैदेशिक श्रमिकका लागि सि-आस्बा प्रणाली र मेरो शेयर मार्फत सम्भव छ।













No comments yet.