रिज लाइन इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- Feb 11, 2026
- 48
रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ लाख ७ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ। कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरपछि बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म खुला रहनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP Double B’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री भइरहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७ वर्ष ४ महिना रहेको छ।
आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।














No comments yet.