विकाश हाइड्रोपावरको आईपीओ असार १८ गतेदेखि खुल्ने
- Jun 25, 2025
- 215
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आउँदो असार १८ गतेदेखि सार्वजनिक निष्कासनमार्फत २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ।
यस आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म कायम गरिएको छ। यदि सो अवधिसम्म माग बराबरको आवेदन प्राप्त नभएमा अवधि साउन १ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड ले लिएको छ। यसअघि कम्पनीले गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई प्राथमिक शेयर बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई २०७८ साल वैशाख १६ गते आईपीओ निष्कासनको स्वीकृति दिएको हो। सो अनुमतिअनुसार विकाश हाइड्रोपावरले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता, अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्नेछ।
कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल फागुनदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरू गरिसकेको छ।
आईपीओ निष्कासनबाट संकलित रकम कम्पनीको परियोजना ऋण भुक्तानी तथा अन्य वित्तीय आवश्यकता पूर्ति गर्न प्रयोग गरिनेछ।














No comments yet.