सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
- Feb 17, 2026
- 63
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर (५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबर) निष्काशन गरेको थियो। उक्त आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए, जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। सोअनुसार ५७ हजार २४३ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेको १ कित्ता शेयर पनि सोही आवेदकमध्ये एक जनालाई प्रदान गरिएको छ, जसअनुसार एक जना आवेदकले कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।












No comments yet.