सूर्यकुण्ड हाइड्रोको वैदेशिक रोजगार आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Dec 29, 2025
- 79
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आज पुस १४ गते आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले उक्त आईपीओ पुस ९ गतेदेखि खुला गरेको हो।
कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत, अर्थात १३ करोड ७९ लाख रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको ६८ हजार ९६७ कित्ता शेयर, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस (CARE-NP BB-)’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख रुपैयाँभन्दा बढी रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १६ वर्ष रहेको विवरणमा उल्लेख छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।












No comments yet.