Sarbaguna

आज अन्तिम दिन: माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको स्थानीय आईपीओमा आवेदन खुला

Mount Everest Power Development Limited ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख १७ गतेदेखि स्थानीयका लागि साधारण शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ८ लाख ६० हजार कित्ता शेयर बिक्री खुला गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निष्काशित शेयरमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ५ लाख १६ हजार कित्ता वडा नं. १ र २ बाहेकका अन्य प्रभावित क्षेत्रका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ६.४० वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि ८.९४ वर्ष रहेको उल्लेख गरिएको छ।

आईपीओलाई CARE Ratings Nepal ले “केयरएनपी डबल बी प्लस” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक NIMB Ace Capital Limited रहेको छ। स्थानीय बासिन्दाहरुले Machhapuchchhre Bank Limited, Nepal Bank Limited, Prabhu Bank LimitedNMB Bank Limited का सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.