आज अन्तिम दिन: स्नो रिभर्सको आईपीओमा आवेदन दिने मौका सकिँदै
- May 15, 2026
- 61
Snow Rivers Limited ले बैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सर्वसाधारणतर्फको आईपीओमा आवेदन दिने आज (जेठ १ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरिएको हो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि तथा ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको थियो।
अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये कुल निष्काशन रकम ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओको लागि गरिएको रेटिङमा ICRA Nepal ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी रहेको छ।
कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष तथा डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १५.७७ वर्ष रहेको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक Sanima Capital Limited रहेको छ। लगानीकर्ताले सी-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा मेरोशेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।














No comments yet.